सम्माननीय राष्ट्रपति डा. रामवरण यादव मित्रराष्ट्र कतारको ४ दिवशीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भयो ।
सम्माननीय राष्ट्रपतिज्यूको यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ सुदृढ गर्न सहयोग पुगेको विश्वास लिइएको छ ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झाले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नु भयो ।
भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले मित्रराष्ट्र कतारको राजकीय भ्रमणका बारेमा सम्माननीय उपराष्ट्रपतिज्यूलाई जानकारी गराउनुका साथै वहाँहरूबीच अन्य समसामयिक विषयमा छलफल भएको थियो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नु भयो ।
भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघमा भाग लिन जाँदाका अनुभवबारे जानकारी गराउनुका साथै वहाँहरूबीच अन्य समसामयिक विषयहरूमा छलफल भएको थियो ।
-----------------------------
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग, आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका, नेपालका लागि जापानका आवासीय राजदूत
H.E. Tatsuo Mizuno ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।
भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. Tatsuo Mizuno लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको थप विस्तारका लागि पु-याउनु भएको योगदानको लागि धन्यवाद दिनुभयो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर निवासी डा. मदन कुमार भट्टराईलाई जापानमा रहेको नेपाली राजदूतावासको रिक्त हुने राजदूत पदमा नियुक्त गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री मा. श्री विजयकुमार गच्छदारले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नु भयो ।
भेटका अवसरमा सम्माननीय राष्ट्रपतिलाई का.वा.प्रधानमन्त्रीज्यूले यही मिति २०६८ असोज १ गते गएको भूकम्पबाट भएको क्षति तथा राहत वितरण सम्बन्धमा जानकारी गराउनुभयो ।
भूकम्पबाट पीडित सम्पूर्ण परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्नुका साथै सम्माननीय राष्ट्रपतिज्यूबाट भूकम्पको कारणले प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षा प्रदान गर्न सरकारले आवश्यक कार्य गर्नेछ भन्ने विश्वास व्यक्त भयो । भविष्यमा भूकम्पबाट हुनसक्ने क्षति न्यूनीकरणका उपायबारे राष्ट्रपतिज्यूले चासो राख्नुभयो ।
उहाँहरूबिच अन्य समसामयिक विषयहरूमा समेत छलफल भयो ।